

काठमाडौँ : अविरल वर्षापछिको बाढी र पहिरोले देशका २५ जिल्लाका मुख्य सडक सञ्जाल अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार आएको अविरल वर्षाका कारण पहाडी तथा हिमाली जिल्ला जोड्ने प्रमुख राजमार्ग र सहायक मार्गहरू ठप्प बनेका हुन्।
सडक अवरुद्ध हुने जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेहथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुर रहेका छन्। त्यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, ललितपुर र चितवनका मुख्य सडकमा पनि गाडी चल्न सकेका छैनन्।
गण्डकी र लुम्बिनी प्रदेशका लमजुङ, म्याग्दी, रोल्पा, दाङ, रुकुम पूर्व र रुकुम पश्चिम तथा सुदूरपश्चिमका बझाङ र बैतडीमा पनि यातायात ठप्प भएको छ। सडक ठप्प भएपछि यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। प्राधिकरणले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउन सुरक्षा निकाय र सडक विभागको टोली परिचालन गरिएको जनाएको छ। तर, निरन्तरको झरीका कारण उद्धार र मर्मत कार्यमा कठिनाइ भइरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |