

काठमाडौँ : संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री नियुक्त भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री शाह अपराह्न सवा ४ बजे कतार एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अमेरिकातर्फ उड्ने कार्यक्रम छ । उनको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य समावेश छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईको टोली भने आइतबार नै न्युयोर्क पुगेर कूटनीतिक भेटघाटमा व्यस्त भइसकेको छ।
प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्युयोर्क बसाइका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। महासभामा सहभागितापछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कनेछन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |