


काठमाडौँ : भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य उल्लेख्य रूपमा बढेर आएपछि नेपाल आयल निगमले नयाँ खुद्रा मूल्य तत्काल सार्वजनिक नगरेको पाइएको छ। सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्ने निगमले शुक्रबार नयाँ मूल्य प्राप्त गरे पनि हालसम्म संशोधित दर सार्वजनिक गरेको छैन।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले प्राप्त मूल्यमा ठूलो अन्तर रहेकाले सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिने बताए। स्वचालित मूल्य प्रणालीअनुसार प्रतिलिटर २ रुपैयाँसम्मको हेरफेर व्यवस्थापनले गर्न सक्ने भए पनि सोभन्दा बढी समायोजनका लागि सञ्चालक समितिको स्वीकृति आवश्यक हुन्छ।
निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएसँगै इन्डियन आयल कर्पोरेसन (आईओसी) ले यसपटक दोहोरो अंकले मूल्य बढाएर पठाएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको स्रोतको भनाइ छ। बैठकले निर्णय गरेपछि मात्र नयाँ मूल्य कार्यान्वयनमा आउनेछ। यससँगै नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य पनि बढ्ने सम्भावना बलियो देखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |