काठमाडौँ : अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज अपराह्न पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ।
बैठकका एजेन्डा प्रधानमन्त्री कार्कीले सोही समयमा प्रस्तुत गर्ने बताइएको छ। यद्यपि, बैठकमा नेपाली सेनाको हतियार खरिदसम्बन्धी विषय छलफलमा आउने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको नेतृत्वमा बस्ने परिषद् बैठकमा गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापति सदस्यका रूपमा सहभागी हुनेछन्। परिषद् राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण सिफारिस र निर्णयहरू गर्ने संवैधानिक निकाय हो।
अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका शीर्ष तहबीच समन्वय र विश्वास अभिवृद्धि गर्ने प्रयासस्वरूप पहिलो बैठक बोलाएकी हुन्।