


काठमाडौँ : सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हालै कार्यान्वयनमा आएको शुल्क खारेज गर्ने निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आर्थिक ऐन, २०८३ अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय भएको जानकारी दिए। उनका अनुसार अर्थमन्त्रीले आर्थिक ऐनको दफा १८ को उपदफा (१०) बमोजिम शुल्क छुटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए, जसलाई बैठकले स्वीकृत गरेको हो।
चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि लागू भएको थियो। निजी विद्यालय तथा स्वास्थ्य संस्थाले यसले सेवा शुल्क बढ्ने र उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पर्ने भन्दै विरोध जनाएका थिए। चौतर्फी आलोचना र दबाब बढेपछि प्रधानमन्त्री वालेन्द्र शाहले शुल्क खारेज गर्ने घोषणा गरेका थिए। मन्त्रिपरिषद्को निर्णयसँगै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क अब पूर्ण रूपमा हट्ने भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |