


काठमाडौँ : मधेश प्रदेशमा पहिलोपटक आयोजना गरिएको ‘न्यायिक मेला’ शनिबारदेखि जनकपुरधाममा सुरु भएको छ । न्यायपालिकाप्रति नागरिकको पहुँच र विश्वास बढाउने उद्देश्यसहित जनकपुर उच्च अदालतले मेलाको आयोजना गरेको हो ।
उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले अदालतको सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन मेला उपयोगी हुने बताए । उनका अनुसार मेलामा अदालतको कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली, पुराना मुद्दा फर्स्योटको अवस्था, वैकल्पिक विवाद समाधान तथा कानुनी सहायता सम्बन्धी जानकारी सर्वसाधारणलाई दिइनेछ ।
मुख्य न्यायाधीश कुँवरले छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादनमार्फत मात्रै न्यायपालिकाप्रति नागरिकको भरोसा बलियो बन्ने उल्लेख गरे । अदालतले पुराना मुद्दा टुंग्याउने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।
न्यायपालिका र नागरिकबीचको दूरी घटाउने माध्यमका रूपमा ‘न्यायिक मेला’लाई लिइएको अदालतको भनाइ छ । सञ्चारमाध्यमले न्यायमा नागरिकको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि अदालतले व्यक्त गरेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |