


काठमाडौँ : नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) बीच अड्किएको पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन सोमबार पहिलो चरणको औपचारिक वार्ता हुने भएको छ। अघिल्लो निर्वाचनअघि नै सहमति भए पनि रोकिएको एकता प्रक्रियालाई पुनर्जीवित गर्न कांग्रेस नेता अर्जुननरसिंह केसी नेतृत्वको वार्ता टोलीसँग संवाद तय भएको हो।
पिटिओ खबरसँगको कुराकानीमा बीपी कांग्रेसका सभापति सुशीलमान शेरचनले सोमबार दिउँसो गगन थापा नेतृत्वको कांग्रेस वार्ता टोलीसँग छलफलमा बस्न लागेको जानकारी दिए। ‘वार्ता प्रक्रिया अन्तिम चरणमा पुगेको होइन, यो वैचारिक स्पष्टताका लागि सुरुवात मात्र हो’,उनले भने, ‘हामी बीपीवादी हौँ भने उहाँहरू गणतन्त्रवादी। हाम्रा नीति, विचार र मूल्य(मान्यतालाई उहाँहरूले कसरी समेट्नुहुन्छ, एकता त्यसैमा निर्भर हुन्छ’।
बीपी कांग्रेसले देशले वर्तमान महँगो संघीयता र भारी प्रशासनिक खर्च धान्न नसक्ने तर्क गर्दै २०४७ सालको संविधान र २०७२ को संविधानका राम्रा पक्षलाई ‘फ्युजन’ गरी अघि बढ्नुपर्ने मुख्य सर्त अघि सारेको छ।
यसका साथै महाधिवेशनमा आफ्ना नेता कार्यकर्ताको क्रियाशील सदस्यता र उचित प्रतिनिधित्वको ग्यारेन्टी हुनुपर्ने अर्को सर्त छ। साथै, राष्ट्रिय मुद्दाहरूमा कांग्रेस सभापति गगन थापाको प्रस्ट दृष्टिकोण चाहिने शेरचनले बताए।
सिद्धान्त र स्वाभिमानमा सम्झौता गरेर एकता नगर्ने अडान राख्दै उनले भोलिको वार्ता सकारात्मक नभए पार्टी आफ्नै महाधिवेशनमा जाने र त्यसपछि पनि एकताका ढोकाहरू खुला रहने स्पष्ट पारे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |