


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार चार घण्टाभन्दा बढी राजनीतिक छलफल भएको छ। बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटलाई पछिल्ला राजनीतिक घटनाक्रमका बीच अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाह बिहान करिब सवा ११ बजे लामिछाने निवास पुगेका थिए भने अपराह्न सवा ३ बजे मात्रै त्यहाँबाट बाहिरिएका थिए। स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति, सुकुमवासी समस्या समाधानका सम्भावित उपाय तथा आपसी सहकार्यका विषयमा विचार–विमर्श भएको थियो।
छलफलमा रास्वपाको आन्तरिक संगठनात्मक विषयले पनि स्थान पाएको बताइएको छ। चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनयन हुन बाँकी रहेका ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको टुंगो लगाउने विषयमा दुवैबीच छलफल भएको स्रोतको दाबी छ।
यद्यपि भेटबारे दुवै पक्षले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। चार घण्टाभन्दा लामो संवादले आगामी राजनीतिक समीकरण र रास्वपाको संगठन विस्तारबारे विभिन्न अड्कलबाजीलाई थप बल दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |