


काठमाडौँ : होर्मुज जलडमरू बन्द गर्ने इरानको घोषणासँगै मध्यपूर्वमा तनाव थप चुलिएको छ। साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध यस साताकै तेस्रो चरणको हवाई कारबाही गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले जहाजमाथि आक्रमण गर्दा इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाजले यात्रा जारी राख्न नसक्ने अवस्थामा पुगेको र चालकदलका एक सदस्य बेपत्ता रहेको सेन्टकमले जनाएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समार्फत इरानले ‘गलत निर्णय’ गरेको टिप्पणी गर्दै त्यसको मूल्य चुकाइरहेको बताएका छन्।
यसअघि इरानले अर्को सूचना नभएसम्मका लागि होर्मुज जलडमरू बन्द गरिएको घोषणा गरेको थियो। आईआरजीसीले भने स्वीकृत समुद्री मार्ग छाडेको र निगरानी प्रणाली बन्द गरेको जहाजलाई पटक–पटक चेतावनी दिँदा अटेर गरेपछि क्रुज मिसाइल प्रहार गरिएको दाबी गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |