काठमाडौं : नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति नियन्त्रणमा लिएको हो ।
भोजपुरकी माया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको बताइएको छ ।
राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।