


बनेपा : सर्वसाधारणलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई सुन, नगद र मोबाइल लुट्ने गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेको र अर्का एक जना लुटिएको सुन खरिद गर्ने सुन पसल सञ्चालक रहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा बनेपामा एक महिलालाई बैंकमा पैसा साटिदिने बहानामा ‘फ्रुटी’मा नसालु पदार्थ मिसाई बेहोस बनाएर गहना, नगद र मोबाइल लुटिएको घटनाबाट गिरोहसम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेज र पीडितको सनाखतका आधारमा बुद्धकुमार श्रेष्ठ र केदार श्रेष्ठ पक्राउ परेका हुन्। उनीहरूको बयानपछि भक्तपुरस्थित जय शिव शक्ति ज्वेलर्सका सञ्चालक नवराज घिमिरेलाई पनि चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपितहरू विगत दुई दशकदेखि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको खुलेको छ। उनीहरूविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |