


काठमाडौँ : खेल बराबरीतर्फ उन्मुख रहेका बेला निकोला भ्लासिचले अन्तिम सात मिनेटअघि गरेको हेडर गोलले क्रोएसियालाई फिफा विश्वकपको अन्तिम ३२ मा पुर्याएको छ।
समूह ‘एल’ अन्तर्गत आइतबार भएको खेलमा क्रोएसियाले घानालाई २-१ ले पराजित गर्दै समूह उपविजेताका रूपमा नकआउट चरणको यात्रा तय गरेको हो ।
क्रोएसियाले ३३औँ मिनेटमा पेटार सुचिचको उत्कृष्ट गोलबाट अग्रता बनाएको थियो। तर दोस्रो हाफमा खेलमा फर्किएको घानाले ७३औँ मिनेटमा डेरेक लकासेनको हेडरमार्फत बराबरी गर्यो। भिएआरबाट लामो परीक्षणपछि गोलले मान्यता पाएको थियो।
बराबरीपछि दुवै टोलीले निर्णायक गोलको खोजी गरिरहेका बेला ८३औँ मिनेटमा लुका मोड्रिचको सटिक क्रसमाथि भ्लासिचले हेडमार्फत गोल गर्दै क्रोएसियालाई महत्वपूर्ण तीन अंक दिलाए। यससँगै इङ्ल्यान्ड समूह विजेता र क्रोएसिया उपविजेताका रूपमा अन्तिम ३२ मा पुगे। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |