


काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा विद्यालयको करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा शुक्रबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।
सिआइबीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रक्रिया र निर्णयमार्फत आठ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको आर्थिक हिनामिना तथा आपराधिक विश्वासघात गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा उनले विद्यालयलाई अनुचित हानि पुग्ने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गर्दै भक्तपुरको दधिकोटस्थित २९ रोपनी चार आना जग्गा आफ्नै स्वामित्व रहेको कम्पनीलाई बिक्री गराएको खुलेको ब्यूरोको दाबी छ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि शेर्पालाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |