


धुलिखेल : काभ्रेपलाञ्चोकमा बर्डफ्लु संक्रमण फैलिएपछि ४० हजार ७२९ वटा हाँस र लेयर्स कुखुरा नष्ट गरिएका छन्। संक्रमणका कारण व्यावसायिक पोल्ट्री फार्ममा धमाधम कुखुरा मर्न थालेपछि किसान र व्यवसायी चिन्तित बनेका छन्।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रका कुखुरा र हाँस नष्ट गरिएको हो। कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरले मरेका कुखुरा तथा हाँसलाई खुला स्थानमा फाल्ने प्रवृत्तिले कौवा र अन्य जंगली चरामार्फत संक्रमण फैलिएको प्रारम्भिक निष्कर्ष रहेको बताए।
उनका अनुसार संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा तथा प्रयोगशाला परीक्षणको नतिजा ढिलो आउँदा संक्रमण नियन्त्रणमा कठिनाइ भएको छ। कार्यालयले संक्रमित क्षेत्रको व्यवस्थापन, निगरानी र अवैध कुखुरा ओसारपसार नियन्त्रणलाई तीव्र बनाएको जनाएको छ।
डा.ठाकुरले पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न, अनावश्यक व्यक्तिको प्रवेश रोक्न तथा खोर र उपकरण नियमित रूपमा सफा राख्न आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |