


काठमाडौँ : प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद सवारीसाधन राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
सोमबार महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चार संस्थालाई त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको प्रतिकूल रहेको उल्लेख गरिएको छ। रास्वपाले आफू सधैं प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढ रहेको पनि जनाएको छ।
विज्ञप्तिमा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि कुनै पनि बहानामा हस्तक्षेप गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अङ्गको भूमिकालाई सीमित पार्ने प्रयास अस्वीकार्य रहेको उल्लेख छ। घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीको पहिचान गरेर कानुनी कारबाही गर्न तथा सञ्चारमाध्यमको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ। साथै, सञ्चारकर्मीलाई दबाब र त्रासबाट मुक्त भई तथ्यमा आधारित पत्रकारिता जारी राख्न पनि अपिल गरेको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |