


काठमाडौँ : नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाका आधारस्तम्भ मानिने आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती सोमबार देश तथा विदेशका नेपाली समुदायले विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रममार्फत मनाउँदै छन्। नेपाली भाषालाई साझा अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न पुर्याएको योगदानको स्मरण गर्दै विभिन्न स्थानमा माल्यार्पण, प्रभातफेरी, रामायण वाचन र साहित्यिक गोष्ठी आयोजना गरिएका छन्।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले संस्कृतमा रचित रामायणलाई नेपालीमा भावानुवाद गरी आम नेपालीको पहुँचमा पुर्याएका थिए। उनको रामायण अहिले पनि घरघरमा लयबद्ध रूपमा पाठ गरिने परम्परा कायम छ। ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ उनका चर्चित कृतिमा पर्छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित उनको प्रतिमामा विशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ। भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा अन्य साहित्यिक संस्थाले पनि विविध कार्यक्रम गर्दैछन्। दार्जिलिङ, सिक्किम, भुटान, म्यान्मारलगायत नेपाली भाषी समुदाय रहेका स्थानमा समेत भानु जयन्ती मनाउने परम्परा निरन्तर रहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |