


गुरुको एउटै वचन-मलाई भौतिक सामान त केही चाहिँदैन, देशको लागि केही गरू। यही गुरुमन्त्रलाई शिरोपर गर्दै एक साधकले नेपाली मौलिकताको यस्तो महाकुम्भ खडा गरे, जहाँ आज सिङ्गो नेपालको सांस्कृतिक मुटु धड्किरहेको छ। ती साधक हुन् रामप्रसाद कँडेल र उनले ठड्याएको महाकुम्भ हो- नेपाली लोकबाजा संग्रहालय।
नेपालभरका दूरदराज, भिरपाखा र गल्छीहरू चहार्दै संकलन गरिएका ७ सय ५० भन्दा बढी प्रकारका रैथाने बाजाहरूले काठमाडौँको टेकुस्थित संग्रहालय सजिएको छ। यो केवल काठ र छालाका टुक्राहरूको संग्रह मात्र होइन, बरु संगीतको एउटै बलियो सुत्रमा अनेकौँ जातजातिलाई बाँध्ने नेपाली पहिचानको कडी हो।

कँडेलका अनुसार मानव शरीर केवल हाडछालाको थुप्रो होइन, यो लाइट एण्ड साउन्ड अर्थात् ज्योति र प्रकाशको संयोग हो। शरीरका सूक्ष्म अणु परमाणुभित्र ुनाद ब्रह्म ध्वनि लुकेको हुन्छ। ब्रह्माण्डमा जुन ब्रह्मनाद गुन्जिरहेको छ, त्यही ध्वनि हाम्रो शरीरमा पनि छ। र, यही आन्तरिक ध्वनिलाई सन्तुलनमा राख्न र खुसी बनाउन संगीतको जन्म भएको हो।
त्यसैले त नेपाली संस्कृतिमा गर्भधारणदेखि मलामी जाँदासम्म बाजाको धुन अनिवार्य मानिन्छ। आमाको गर्भमा बच्चा आउँदा ओजस्वी र चरित्रवान् बनोस् भनेर गुन्जिने वैदिक स्तोत्र र संगीतदेखि, मृत्यु संस्कारमा कमजोर बनेको आत्मालाई परमात्मा वा पितृहरूकहाँ पुर्याउने यानु (गाडी) का रूपमा बजाइने शंखनाद र रैथाने बाजाहरू यसका जीवन्त उदाहरण हुन्।

नेपालमा बसोबास गर्ने १२५ भन्दा बढी जातजातिका आ आफ्नै मौलिक बाजाहरू छन्। सम्पन्नता र जग्गाजमिन धेरै हुनेहरूको बाजाको संख्या धेरै र आर्थिक रूपमा केही पछि परेकाहरूको बाजा थोरै भए पनि बाजाविहीन कोही छैनन्। जंगलमा फिरन्ते जीवन बिताउने राउटे हुन् वा लोपोन्मुख कुसुन्डा जाति, उनीहरूको आफ्नै दुर्लभ बाजा र धुनहरू छन्। तसर्थ, नेपाली जीवनको अङ्ग बनेका यी बाजाहरू रोपाईं गर्दा, युद्धमा जाँदा, जन्मँदा वा मर्दा-हरेक सुख दुःखको साथी बनिरहेका छन्।

यस ऐतिहासिक र राष्ट्रिय गौरवको सम्पदालाई केवल व्यक्तिगत वा संस्थागत प्रयासमा मात्र सीमित राख्नु अन्याय हुने कँडेलको बुझाइ छ। राज्यले आफ्नो यो राष्ट्रिय गौरवको सम्पदा र मौलिक पहिचानलाई सरकारी तवरबाटै संरक्षण र संवर्द्धन गर्न अब ढिलाइ गर्नु हुँदैन।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |