काठमाडौँ : संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ। बुधबार बसेको समितिको बैठकले सुनुवाइ प्रक्रियापश्चात् उनको नाम सर्वसम्मतिबाट अस्वीकार गर्ने निर्णय गरेको हो।
सुनारविरुद्ध घरेलु हिंसा, आर्थिक लेनदेन, कूटनीतिक मर्यादा विपरीतका कार्य तथा जर्मनीबाट डिपोर्ट (निष्कासन) भएको गम्भीर आरोपसहित समितिमा उजुरी परेका थिए। संसदीय सुनुवाइ क्रममा सभासदहरूले ती आरोपबारे सुनारसँग तीव्र प्रश्नोत्तर गरेका थिए। उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको र कूटनीतिक जिम्मेवारी बहन गर्न अयोग्य देखिएको ठहर गर्दै समितिले प्रस्तावित नाम अनुमोदन नगर्ने निर्णय सुनाएको हो।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको यो विरलै घटनामध्ये एक हो। निर्णयसँगै अब साउदी अरबका लागि नयाँ राजदूत सिफारिस गर्ने बाटो खुलेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |