

काठमाडौँ : प्रतिनिधिसभाभित्र सरकारमा सहभागी मन्त्री र आफ्नै सांसदहरूबिच बढ्दै गएको मतभेद र अनुशासनहीनता नियन्त्रण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ। संसद्को मङ्गलबारको बैठकमा मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै आफ्नै सांसदले बैठक बहिष्कार गरेपछि उत्पन्न विवाद समाधान गर्न पार्टीले आज मन्त्री र सांसदहरूको संयुक्त बैठक बोलाएको हो।
संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेले अनुशासन, संसदीय मर्यादा र सार्वजनिक अभिव्यक्तिका विषयमा कडा निर्देशन दिने तयारी छ।
मङ्गलबार परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा असन्तुष्टि जनाउँदै पुनः प्रश्न गर्न खोजेकी रास्वपा सांसद आशिका तामाङलाई सभामुख डीपी अर्यालले रोकेपछि उनी बैठक छाडेर बाहिरिएकी थिइन्। यस घटनाले पार्टीभित्रको आन्तरिक बेमेल र मर्यादाहीन व्यवहारलाई छताछुल्ल पारेपछि रास्वपाले समीक्षासहित सचेत गराउन यो कदम चालेको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |