

काठमाडौँ : नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष तथा रुसको प्रसिद्ध बोलसोई थिएटरको २५० औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा ‘नेपाल–रुस नाट्य महोत्सव’ औपचारिक रूपमा सुरु भएको छ । कमलपोखरीस्थित रसियन हाउसमा आयोजना गरिएको सप्ताहव्यापी महोत्सवको उद्घाटन सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले गरेका हुन् । रुससँगको ७० वर्षे सांस्कृतिक सहकार्य र कूटनीतिक सम्बन्धलाई मञ्चमार्फत थप उचाइ दिने उद्देश्यले रसियन हाउसको सहकार्यमा शैली थिएटरले उक्त महोत्सव आयोजना गरेको हो ।

उद्घाटनका अवसरमा एन्टन चेखभको प्रसिद्ध नाटक ‘स्वान सोङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ मञ्चन गरियो । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीको निर्देशन र महेश पौडेलको अनुवाद रहेको नाटकमा रङ्गकर्मी सुनिल पोखरेल र सबु गुरुङको मुख्य अभिनय छ । महोत्सवअन्तर्गत असोज ३ देखि ५ गते सम्म ‘अन्तिम गीत’ दैनिक दुई शो प्रदर्शन हुनेछ । त्यसपछि महेश पौडेलद्वारा लिखित तथा पद्म कन्या क्याम्पसका संगीत संकायका विद्यार्थीहरूको सांगीतिक प्रस्तुति रहेको नाटक ‘भवमल्ली’ मञ्चन गरिने आयोजकले जनाएको छ । सन् १९५६ मा कूटनीतिक सम्बन्ध गाँसिएयता दुई देशबीच सांस्कृतिक आदानप्रदान मुख्य सेतुका रूपमा रहँदै आएको छ ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |