काठमाडौं : ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले अहिले प्रधानमन्त्री बालेन शाह नेपाली राजनीतिका ‘पोस्टर ब्वाई’ बनेको टिप्पणी गरेका छन्। जसरी कुनै समय नेपाली चलचित्रका लागि राजेश हमाल परिचित थिए, त्यसरी नै बालेन अहिले नेपाली राजनीतिमा चर्चित अनुहारका रूपमा स्थापित भएका छन् । द न्यूयोर्क टाइम्स, टाइम र अलजजिरादेखि रोयटर्ससम्मका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा संयुक्त राष्ट्रसंघको महासभामा उनले उठाएका विषयले प्रमुख स्थान पाएको पन्तको भनाइ छ ।
पन्तका अनुसार, अहिलेको राजनीतिमा सार्वजनिक प्रस्तुति अर्थात् ‘अप्टिक्स’ ले महत्त्व राख्छ । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि बालेनको बढ्दो अन्तर्राष्ट्रिय चर्चाले नेपालको छवि र प्रतिष्ठा उकासेको अनुभूति उनीहरुले गरेका छन् । यो नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि सकारात्मक उपलब्धि हो । तर, यस्तो चर्चा र लोकप्रियतालाई वास्तविक कूटनीतिक तथा आर्थिक लाभमा रूपान्तरण गर्नुपर्ने चुनौती अब प्रधानमन्त्रीसामु रहेको उनले बताएका छन् । त्यसका लागि प्रधानमन्त्रीले आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई कसरी नेपालको राष्ट्रिय हितमा उपयोग गर्छन् भन्ने कुरा आगामी दिनमा हेर्न बाँकी रहेको छ । नत्र बढी मिडिया तथा बयानबाजीले व्यक्तिलाई जोकरमा परिणत गर्ने जोखिम पनि हुन्छ । पन्तको भनाइ छ ।
पन्तले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव गर्नुभएको हिमालय जलवायु उत्थानशीलता संयन्त्र (एचसीआरएम) को अवधारणा सकारात्मक रहेको उल्लेख गर्दै भारत, चीन र नेपाललाई एउटै मञ्चमा ल्याउने यस्तो पहलका लागि पर्याप्त कूटनीतिक तयारी आवश्यक रहेको बताएका छन् ।
पन्तका अनुसार, भारत र चीनसँग एचसीआरएमजस्ता पहलमा सहकार्य गर्नुअघि नेपालले यी दुवै मुलुकसँगको सम्बन्धलाई विकास, रक्षा र कूटनीति अर्थात् ‘डेभलपमेन्ट, डिफेन्स एन्ड डिप्लोमेसी’ (थ्रीडी) को दृष्टिकोणबाट समीक्षा गर्नुपर्छ । तीनवटै देशका राष्ट्रिय हित, रणनीतिक प्राथमिकता र सहकार्यका सम्भावित क्षेत्रहरूको स्पष्ट बुझाइले मात्र यस्तो पहललाई व्यावहारिक, प्रभावकारी र दिगो बनाउन सक्छ ।
उनले विकास, रक्षा र कूटनीतिका क्षेत्रमा नेपालको विद्यमान अवस्था, चुनौती, सम्भावना र रणनीतिक प्राथमिकताको लेखाजोखा कसरी गर्ने भन्ने विषय पनि ‘एआईको युगमा नेपाल’ अभियानको छलफल र बहसको महत्त्वपूर्ण हिस्सा रहेको बताएका छन् ।
उनका अनुसार, भारत र चीनका वर्तमान रणनीतिक प्राथमिकता, राष्ट्रिय हित र आपसी चुनौतीहरू नबुझी न्यूयोर्कमा गएर प्रस्ताव प्रस्तुत गर्नु मात्र पर्याप्त हुँदैन । सम्बन्धित मुलुकहरूको चासो, संवेदनशीलता र सहकार्यका सम्भावित क्षेत्रबारे आवश्यक गृहकार्य नगरी अन्तर्राष्ट्रिय मञ्चमा गरिने बहस कार्यान्वयनमुखी कूटनीतिभन्दा विदेशमा गएर गरिएको हावादारी गफ मात्र सीमित हुन सक्छ ।
यसै क्रममा पन्तले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ नामक खुला राष्ट्रिय अभियानको औचित्य पनि पुनः स्पष्ट पारेका छन् । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, राष्ट्रिय सुरक्षा र दीर्घकालीन समृद्धिका लागि व्यापक राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ छ ।
“नेपालको परराष्ट्र नीति स्टन्टमा होइन, रणनीतिक गृहकार्य, राष्ट्रिय हित र परिणाममुखी कूटनीतिमा आधारित हुनुपर्छ,” पन्तले भने

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |