काठमाडौं : अवैध लागूऔषध ओसारपसार तथा बिक्रीवितरणविरुद्ध प्रहरीले चलाएको देशव्यापी अप्रेशनका क्रममा काठमाडौंसहित आठ जिल्लाबाट १६ जना पक्राउ परेका छन्। काठमाडौं, भक्तपुर, दाङ, कञ्चनपुर, बर्दिया, झापा, नवलपरासी पूर्व र कैलालीका विभिन्न स्थानबाट ठूलो मात्रामा नियन्त्रित औषधि, खैरो हेरोइन, ब्राउनसुगर र नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार काठमाडौंको पुरानो बानेश्वरबाट ४३० ट्याब्लेट ट्रामाडोल र ५९ एम्पुल लागूऔषधसहित दोलखाका १९ वर्षीय शैलेश नेपाली पक्राउ परेका छन्। त्यस्तै भक्तपुरको दिव्यश्वरी प्लानिङबाट करिब ५५ ग्राम खैरो हेरोइनसहित बसन्तबहादुर खत्री र प्रदिप केसी पक्राउ परेका छन् ।
दाङको घोराहीमा ७८ ग्रामभन्दा बढी ब्राउनसुगर र २ लाख नगदसहित गोबिन्द खड्का पक्राउ परेका छन्। झापा, बर्दिया, कञ्चनपुर, नवलपरासी पूर्व र कैलालीबाट समेत ब्राउनसुगर, नगद र मोटरसाइकलसहित अन्य अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |