काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका मूलभूत मान्यताका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारले देखाएको व्यवहार निकै चिन्ताजनक रहेको बताएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सञ्चारमाध्यमको समाचार कक्षमा प्रहरी पठाएर पत्रकार पक्राउ गर्ने सरकारी शैलीले विधिको शासनको धज्जी उडाएको आरोप लगाए।
कुनै पनि प्रहरी अधिकारी रहरले मिडिया हाउसभित्र छिर्न नसक्ने स्पष्ट पार्दै थापाले यो घटना उच्च राजनीतिक तहको प्रत्यक्ष आदेशविना सम्भव नभएको जिकिर गरे। ‘प्रहरी आफैँ मिडियाको न्यूजरुममा पुग्दैन, माथिको आदेशमार्फत नै पुगेको हो’,उनले आक्रोश पोखे, -‘केही साथीहरू एक ठाउँमा बसेर उठा भनेर निर्देशन दिन्छन् र पक्राउ गरिन्छ। अनि सर्वत्र चर्को आलोचना भएपछि फेरि छोड भनेर निर्देशन दिइन्छ।’
सरकार पूर्ण रूपमा हुकुमी र स्वेच्छाचारी शैलीतर्फ अग्रसर भइरहेको आरोप लगाउँदै उनले लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |