

काठमाडौँ : दुई दिनदेखिको अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित भएको छ। वर्षासँगै आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा पहिरोले घर पुरिँदा ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको छ। खोजी गर्ने क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ । यस्तै, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदीको पनि पहिरोमा परेर मृत्यु भएको छ।
अविरल वर्षाकै कारण कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिकै स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बाढीले बगाएको छ। बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ भने झडेवालगायत क्षेत्रका धानबालीमा क्षति पुगेको छ। माथागढी- ४ देउगीरमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार जोखिममा परेका छन्। स्थानीय तह र सुरक्षा निकायले सम्भावित जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |