काठमाडौँ : लगातारको वर्षाले नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलतालिका प्रभावित हुने सम्भावना बढाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने दुई खेलका लागि मौसम प्रतिकूल देखिएपछि प्रतियोगिताको सञ्चालन अन्योलमा परेको हो।
आज पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
शुक्रबारदेखिको वर्षाका कारण मैदान ढाकिएको छ। वर्षा रोकिए पनि भिजेको आउटफिल्डका कारण खेल सञ्चालन गर्न कठिनाइ हुन सक्ने देखिएको छ।
प्रतियोगितामा वैकल्पिक दिन (रिजर्भ डे) को व्यवस्था छैन। त्यसैले मौसमका कारण खेल हुन नसके दुवै टोलीले एक-एक अंक बाँड्नुपर्नेछ। टस हुनुअघि नै खेल रद्द भए टिकटको रकम फिर्ता गरिने व्यवस्था छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाको प्रभाव तत्काल हट्ने सम्भावना कम छ। आइतबार अपराह्नपछि मात्रै मौसममा सुधार आउने अनुमान गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |