काठमाडौँ : पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी हस्तक्षेपको विरोधमा पत्रकारहरू सडकमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा शनिबार काठमाडौँको माइतीघर मण्डलमा सञ्चारकर्मीहरूले प्रदर्शन गरेका हुन्।
वर्षा र झरीका बीच माइतीघरमा भेला भएका पत्रकारहरूले न्यूजरुमभित्रै प्रहरी प्रवेश, सञ्चारकर्मीमाथिको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनपछि आयोजित सभालाई नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका थिए।
उनीहरूले पत्रकार पक्राउ र सञ्चारगृहमाथि भइरहेको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाउँदै राज्यको कदमले प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने बताएका थिए।
सञ्चार क्षेत्रमाथिको धरपकड तत्काल नरोके आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |