काठमाडौँ : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरेको आरोपमा पूर्वमहाप्रबन्धकसहित आठ जना अधिकारी तथा कर्मचारी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमहाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई बिहीबार काठमाडौँ, पोखरा, चितवन र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानमा झा र अन्य कर्मचारीको मिलेमतोमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याइएको देखिएको छ।
पक्राउ पर्नेमा विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी छन्।
उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान अघि बढाइएको सीआईबीका सहप्रवक्ता योगेन्द्रकुमार खड्काले जानकारी दिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |