काठमाडौँ : प्रहरी हिरासतमा रहेका इनम सापकोटाको अडिओ सार्वजनिक भएको तथा पत्रकार पक्राउ गरिएको घटनाबारे छानबिन गर्न प्रतिपक्षी दलहरूले संसदीय समितिको आकस्मिक बैठक माग गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुधबार राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकाललाई छुट्टाछुट्टै पत्र बुझाउँदै बैठक बोलाउन माग गरेका हुन्।
उनीहरूले गृहमन्त्री र प्रहरी महानिरीक्षक (आइजिपी) लाई समितिमा उपस्थित गराई घटनाबारे जवाफ लिनुपर्ने बताएका छन्।
हिरासतमा रहेका सापकोटाको अडिओ कसरी सार्वजनिक भयो, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले फेसबुकमा लेखेको स्टाटसको आधार के हो र हिरासतमा रहेका व्यक्तिको मोबाइल सल्लाहकारको निवाससम्म कसरी पुग्यो भन्ने प्रश्न प्रतिपक्षी दलहरूले उठाएका छन्।
गृह प्रशासन र प्रहरी नेतृत्वबीचको सम्बन्ध तथा पत्रकार पक्राउ प्रकरणमा सरकारलाई जवाफदेही बनाउन उनीहरूले तत्काल संसदीय समितिको बैठक र संसद् अधिवेशन आह्वान गर्नसमेत माग गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |