काठमाडौं : नव नियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छन्। कार्कीले गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गरेकी हुन्।
प्रधानमन्त्री कार्यालय रहेको भवन जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि सिंहदरबारभित्रैको गृह मन्त्रालयको नयाँ भवनलाई अस्थायी कार्यकक्ष बनाइएको छ ।
पदभार ग्रहणअघि कार्की लैनचोरस्थित शहीद स्मारक पुगेकी थिइन्। उनले त्यहाँ शहीदको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिन्।
जेनजी प्रतिनिधिहरूको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ बमोजिम पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छिन्।
शनिबार उनले जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुगेकी थिइन्।