

काठमाडौं : बौद्ध क्षेत्रमा एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुनका गहना चोरी प्रकरणमा संलग्न एक जनालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । फरार हुने क्रममा प्रतिकार गरेपछि प्रहरीले खुट्टामा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्ने व्यक्ति प्रेम थारु हुन् । नेपालगञ्ज स्थायी घर भएका थारु हाल कलंकीमा बस्दै आएका थिए । उनलाई नागार्जुन नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको हो । गोली लागेर घाइते भएका थारुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो थारुले बौद्ध क्षेत्रका रिन्जी लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका गहना र सिमाला सहित एक करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए । चोरीका सम्पूर्ण गहना बरामद गरी मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
थारु यसअघि पनि चोरी तथा लुटपाटका घटनामा संलग्न भई २०७९ मा कारागार चलान भएका थिए ।
