


काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल भइरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको टोलीसँगको भेटमा उनले समस्याको समाधानका लागि भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।
महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यात प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। टोलीले चिया उद्योग सङ्कटमा पर्दा अर्थतन्त्र र यसमा निर्भर हजारौँ परिवारको जीविकोपार्जन प्रभावित हुने जनाएको थियो।
भेटमा मन्त्री खनालले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग कुराकानी अघि बढिसकेको र निकट भविष्यमा सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरे। उनले चियामात्र नभई अन्य निर्यातजन्य वस्तुमा बेलाबेला देखिने यस्ता अवरोधको दीर्घकालीन समाधान खोज्न पनि भारतसँग छलफल भइरहेको बताए।
महासङ्घले वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र जोगाउन सरकारले शीघ्र पहल गर्नुपर्नेमा जोड दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |