


काठमाडौ : किलियन एम्बाप्पेले दुई गोल गरेपछि फ्रान्सले स्विडेनमाथि सहज जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। लगातार आक्रामक खेल प्रस्तुत गरेको फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै उपाधि यात्रालाई अघि बढाएको हो।
एम्बाप्पेले दुई तथा ब्राड्ली बार्कोलाले एक गोल गरे। पहिलो हाफको ४५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ५३ औं मिनेटमा बार्कोलाले गोल थपे। ७४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।
जितसँगै एम्बाप्पे गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसीको बराबरीमा पुगेका छन्। जारी प्रतियोगितामा दुवैले समान ६-६ गोल गरेका छन्। विश्वकप इतिहासमा एम्बाप्पेको कुल गोल संख्या १८ पुगेको छ भने मेसी १९ गोलसहित अझै अगाडि छन्।
खेलभर स्विडेनमाथि दबाब कायम राखेको फ्रान्सले थप अवसर पनि सिर्जना गरेको थियो। सन् २०१८ को विश्वविजेता फ्रान्सले अब क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |