


काठमाडौं : जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे र कुसुन्डा समुदायको ऐतिहासिक पृष्ठभूमि र उनीहरूको साङ्गठनिक वंश परम्परालाई लिएर नयाँ बहस सुरु भएको छ।
सामाजिक मनोविद् डा. दलिपकुमार मल्लले राउटे र कुसुन्डा समुदायको ठकुरी वंशसँग गहिरो ऐतिहासिक सम्बन्ध रहेको दाबी गर्दै यस विषयमा राज्यस्तरबाटै गहन अनुसन्धान हुनुपर्ने खाँचो औंल्याउनुभएको छ। ऐतिहासिक बाइसी चौबीसी राज्यका शासकहरूसँग यी समुदायको साइनो जोडिएको हुन सक्ने बलिया आधारहरू फेला परेको उहाँको भनाइ छ।
लामो समयदेखि नेपालका अल्पसङ्ख्यक एवं सीमान्तकृत जातिहरूको सामाजिक(मनोवैज्ञानिक पाटोमा अध्ययन गरिरहनुभएका डा. मल्लका अनुसार राउटेहरूले आफूलाई अनादि कालदेखि नै ‘ठकुरी’ का रूपमा चिनाउँदै आएका छन्। जंगलमा बस्ने भए पनि उनीहरूले आफ्नो वंशलाई सोमवंशी, रासकोटी, कल्याल र हमाल जस्ता प्रतिष्ठित ठकुरी हाँगाहरूसँग जोड्ने गरेका छन्। यो आत्म पहिचान केवल मौखिक दाबी मात्र नभई उनीहरूको सामाजिक मनोविज्ञान र उच्च आत्मसम्मानको भावनासँग समेत जोडिएको डा. मल्ल बताउनुहुन्छ।
ूऐतिहासिक बाइसी चौबीसी राज्यकालमा ठकुरी राजाहरूको शासन थियो। राउटेहरू तिनै राजाहरूका वंशज वा सन्तति हुन् जो कुनै विशेष ऐतिहासिक कालखण्डमा राजनीतिक विमति, आन्तरिक कलह वा असन्तुष्टिका कारण दरबार छोडेर जङ्गल पसेको अनुमान गर्न सकिन्छ,’डा. मल्लले भन्नुभयो’।
राउटे मात्र नभई नेपालको अर्को रैथाने र सङ्कटसन्न अवस्थामा रहेको कुसुन्डा समुदायमा पनि ठकुरी वंशको प्रभाव स्पष्ट देखिएको डा. मल्लको विश्लेषण छ। कुसुन्डाहरूको थरमा ‘सिंह’ लेखिने परम्परा रहनुले उनीहरूको सम्बन्ध पनि कुनै न कुनैरूपमा ठकुरी राजखलकसँग रहेको सङ्केत गर्दछ। तथापि, कुसुन्डा समुदायभित्र अन्य जाति वा थरहरू कसरी र कुन परिस्थितिमा प्रवेश गरे भन्ने कुरा भने अझै पनि रहस्यकै गर्भमा रहेको छ।
राउटे र कुसुन्डा समुदायको उत्पत्ति र उनीहरूको फिरन्ते जीवनयात्रालाई लिएर समाजशास्त्र र इतिहासमा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्, डा मल्ल भन्नुहुन्छ, ‘राउटे पहिला कि ठकुरी पहिला भन्ने ऐतिहासिक प्रश्नको निरूपण हुन बाँकी नै छ। उनीहरू कसरी र किन जङ्गलमा यसरी फिरन्ते जीवन बिताउन पुगे भन्नेबारे राज्यले प्राज्ञिक र वैज्ञानिक अनुसन्धान अघि बढाउनु आवश्यक छ ‘।
विज्ञहरूका अनुसार यस्ता लोपोन्मुख जातिहरूको वंशविज्ञान र ऐतिहासिक उत्पत्तिको खोजीले नेपालको सामाजिक इतिहासको एउटा महत्वपूर्ण कडीलाई उजागर गर्नेछ। डा. मल्लको यो नवीनतम दृष्टिकोणले राउटे र कुसुन्डा समुदायलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन र उनीहरूको पहिचानलाई नयाँ उचाइ दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |