


काठमाडौँ : लगातार सात कारोबार दिनसम्म ओरालो लागेको शेयर बजार बुधबार भने सुधार भएको छ । खरिदकर्ता सक्रिय बन्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५२ दशमलव ९३ विन्दुमा पुगेको छ। बजारसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँ पुगेको छ।
बुधबार ३६२ कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ५६ हजार ८५० पटक किनबेच भएका छन्। सेन्सेटिभ परिसूचक ५ दशमलव ७७ अंकले बढ्दा फ्लोट र सेन्सेटिभ फ्लोट परिसूचक पनि उकालो लागेका छन्। स्नो रिभर्सको शेयरमा सकारात्मक सर्किट लागेको दिन सिवाईसी लघुवित्त र भुजुङ हाइड्रोपावरको मूल्य १४ प्रतिशतभन्दा बढीले बढ्यो। यता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव २१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट पनि उच्च कारोबार हुने कम्पनीमा परे। बजारमा कारोबार भएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्, जसमा व्यापार उपसमूह सर्वाधिक २।६० प्रतिशतले उकालो लागेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |