


काठमाडौँ : निर्धारित र अतिरिक्त समयसम्म गोलरहित बराबरीमा रोकिएको खेलमा स्विजरल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियामाथि ४-३ को रोमाञ्चक जित निकाल्दै फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। सन् १९५४ पछि पहिलोपटक अन्तिम आठमा पुगेको स्विजरल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्नेछ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा गोल गर्न सकेनन्। त्यसपछि भएको पेनाल्टी सुटआउटमा रुबेन भर्गासले निर्णायक प्रहारलाई गोलमा परिणत गर्दै स्विजरल्याण्डलाई ऐतिहासिक जित दिलाए।
स्विजरल्याण्डका सेड्रिक इटेन, जाकी अम्दौनी र ग्रानिट झाकाले पनि गोल गरे भने म्यानुएल अकान्जीको प्रहार बाहिरिएको थियो। कोलम्बियाका लुइस डियाज र जुआन क्विन्टेरोले गोल गरे पनि डेभिन्सन सान्चेज चुके। कुचो हर्नान्डेजको प्रहार गोलकिपर ग्रेगोर कोबेलले रोकेपछि स्विजरल्याण्डको जित सुनिश्चित भएको थियो। हारसँगै कोलम्बियाका खेलाडी भावुक बनेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |