


बनेपा : काभ्रेपलाञ्चोकमा बर्डफ्लु सङ्क्रमणको जोखिम अझै उच्च रहेकाले नियन्त्रणका प्रयास तीव्र पारिएको छ। देशका अधिकांश जिल्लामा सङ्क्रमण नियन्त्रणमा आइसके पनि काठमाडौँ उपत्यका र विशेषगरी काभ्रेपलाञ्चोकमा जोखिम कायम रहेको पशु सेवा विभागले जनाएको छ।
झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायतका जिल्लामा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा निगरानी तथा नियन्त्रणका काम निरन्तर भइरहेको पशु सेवा विभागको भनाइ छ ।
हालसम्म देशभर सात लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३ सय ३ अण्डा र दुई लाख ४३ हजार ६ सय ३५ केजी दाना नष्ट गरिएको छ। उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा मात्रै दुई लाख ८६ हजार २ सय ७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा तथा ७४ हजार केजी दाना नष्ट गरिएको छ। जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमनपछि सङ्क्रमण नियन्त्रणका थप उपाय कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |