


काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको कैद सजाय सर्वोच्च अदालतले निर्धारण गरेसँगै उनीहरूले अब कति अवधि जेल बस्नुपर्ने भन्ने पनि स्पष्ट भएको छ।
सर्वोच्च अदालतले रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ तथा खाँणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको हो। कानुनी व्यवस्थाअनुसार फैसला अघि थुनामा बिताएको अवधि पनि कैदमा गणना हुने भएकाले रायमाझीले अब करिब १० महिना मात्रै जेल बस्नुपर्ने भएको छ। उनी २०८० वैशाख ३१ गते पक्राउ परेदेखि हालसम्म करिब ३ वर्ष २ महिना थुनामा बिताइसकेका छन्। जेनजी आन्दोलनका क्रममा जेल ब्रेक हुँदा उनी करिब १५ दिन बाहिर रहे पनि पछि आफैं कारागार फर्किएका थिए।
यता, खाँणले यसअघि करिब सात महिना थुनामा बिताएका कारण दुई वर्षको सजायमध्ये अब करिब एक वर्ष पाँच महिना जेल बस्नुपर्ने देखिन्छ। यसअघि उनी धरौटीमा रिहा भएका थिए। यस हिसाबले खाँणभन्दा अघि रायमाझी कैदमुक्त हुने अवस्था बनेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |