


काठमाडौं : वैदेशिक रोजगारसम्बन्धी ठगी, बढी शुल्क असुली तथा सम्झौताविपरीतका सेवासम्बन्धी गुनासा अब अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ।
वैदेशिक रोजगार विभागले मंगलबार ‘उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याउँदै पीडितलाई स्वदेश वा विदेशबाटै आवश्यक प्रमाणसहित उजुरी दर्ता गर्ने सुविधा उपलब्ध गराएको हो।
नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम लिएर नपठाएको, तोकिएकोभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको वा सम्झौताअनुसारको काम, तलब तथा सेवा–सुविधा नपाएकोजस्ता विषयमा उजुरी दिन सकिने विभागले जनाएको छ। उजुरी दर्तापछि सेवाग्राहीले इमेल वा एसएमएसमार्फत प्राप्त ट्र्याकिङ कोड प्रयोग गरी आफ्नो मुद्दाको प्रगति अनलाइनबाटै हेर्न सक्नेछन्।
विभागका अनुसार यसले उजुरी व्यवस्थापनलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउनेछ। साथै, प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी प्रक्रियालाई अघि बढाइने, जसबाट पीडितले काठमाडौं धाइरहनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |