


काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्ना सचिवालय सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खनालको कार्यशैली, आचरण तथा पछिल्ला गतिविधिबारे उठेका प्रश्नहरूको समीक्षा गर्दै उनलाई सचिवालयबाट अलग गर्ने निर्णय गरिएको हो।
स्रोतका अनुसार गत असार १ गते राहदानी विभागमा भएको पासपोर्ट प्रकरणका क्रममा खनालले विभागका अधिकारी तथा अख्तियारका पदाधिकारीसँग देखाएको व्यवहारलाई लिएर असन्तुष्टि बढेको थियो। त्यसयता पनि उनको भूमिकाबारे विभिन्न उजुरी र गुनासा सचिवालयमा पुगेपछि प्रधानमन्त्रीको टोलीले सामूहिक रूपमा उनलाई जिम्मेवारीबाट हटाउन सुझाव दिएको बताइएको छ।
प्रधानमन्त्री कार्यालयसम्बद्ध एक स्रोतका अनुसार सचिवालयको समग्र छविमा नकारात्मक असर पर्न सक्ने निष्कर्षपछि प्रधानमन्त्री शाहले खनाललाई औपचारिक रूपमा जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेका हुन्। उनलाई जिम्मेवारीबाट हटाइएको पत्र दिने प्रक्रिया पनि पूरा भइसकेको स्रोतको दाबी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |