


काठमाडौँ : बीपी कांग्रेस र गगन थापा नेतृत्वको नेपाली कांग्रेसबीच पार्टी एकीकरणको औपचारिक प्रक्रिया अघि बढेको छ। बीपी कांग्रेसले संवैधानिक राजसंस्था र ‘हिन्दू राष्ट्र’ सहितका एजेन्डा अघि सार्दै नेपाली कांग्रेससँग वार्ता थालेको हो।
सोमबार बुढानीलकण्ठस्थित कांग्रेस वार्ता समिति संयोजक अर्जुननरसिंह केसीको निवासमा दुवै पक्षका प्रतिनिधिबीच पहिलो चरणको प्रारम्भिक छलफल सम्पन्न भयो। वार्तामा बीपी कांग्रेसका सभापति सुशीलमान शेरचन, पूर्वमन्त्री झलकनाथ वाग्ले र नेता अशोक खड्का तथा कांग्रेसका तर्फबाट प्रदीपराज शर्मा र उज्ज्वल बरालको सहभागिता थियो।
बीपी कांग्रेसले २०४७ र २०७२ को संविधानका सकारात्मक पक्षलाई समायोजन गर्दै परिमार्जित संविधान ल्याउनुपर्ने सर्त राखेको छ। साथै, प्रादेशिक संरचना खारेज गरी स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउने, मन्त्रालयको संख्या १५ मा सीमित गर्ने र जेन-जी (नयाँ पुस्ता) का युवालाई केन्द्रीय समितिमा निश्चित प्रतिशत स्थान दिनुपर्ने जस्ता ७ बुँदे धारणासमेत अघि सारेको छ।
देशको वर्तमान राजनीति ‘कालो दुलो’ (ब्ल्याक होल) मा फस्दै गएकाले बीपी कोइरालाको ‘राष्ट्रिय मेलमिलाप’को नीति पछ्याउँदै वार्तामा आएको बीपी कांग्रेसले जनाएको छ। दुवै पक्षबीच एजेन्डामा गहन छलफल भएको र शीघ्र नै अर्को बैठक बसेर एकीकरणको ठोस खाका बनाइने कार्यालय सचिव सर्वजित शेरचन थकालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |