


काठमाडौँ : सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मी गरी १६ जना भन्दा बढी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। घटनामा गोली लागेर अन्य आठ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूमध्ये केहीको कोशी अस्पताल र केहीको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुई पक्षबीचको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेको छ भने अन्य घाइते सुरक्षाकर्मीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाको कारण र गोली चलाउनुपरेको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |