


काठमाडौँ : सुनसरीको देवानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रलाई केन्द्रित गरी कफ्र्यु लागू गरिएको हो।
हरिनगरमा नुनियतोलदेखि पश्चिम खुनिया धार, गाउँपालिका कार्यालयदेखि वसन्तपुर मोडसम्म, भुटाहामा मोरिया धार खोलादेखि इदगाह फिल्ड तथा सुनसरी खोलादेखि गाउँपालिका कार्यालयसम्मको क्षेत्र कफ्र्युभित्र परेको छ। यस्तै कप्तानगञ्जमा यादव टोलदेखि सिमल मावि, कृष्ण माविदेखि नेपाल–भारत सीमासम्म आवागमनमा रोक लगाइएको छ।
घुस्कीमा कासमिया मदरसादेखि प्रहरी चौकी, इशा हार्डवेयरदेखि हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्जमा मुसहर टोलदेखि मोरिया खोला, चिउरा मिलदेखि गाउँपालिका कार्यालयसम्मको क्षेत्रमा पनि कफ्र्यु लागू गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |