

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय मर्यादा र कानुनको परिधिभित्र रहेर प्रस्तुत हुन आफ्ना सांसदहरूलाई कडा निर्देशन दिएका छन्। अनौपचारिक संसदीय दलको बैठकमा उनले विशेष गरी सांसदद्वय आशिका तामाङ र खगेन्द्र सुनारको अभिव्यक्ति तथा व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्।
कम्बोडियामा ज्यान गुमाएका नेपालीको शव ल्याउने विषयलाई लिएर संसद् छाडेर हिँडेकी आशिकालाई लक्षित गर्दै लामिछानेले अभियन्ता र सांसदको भूमिका फरक हुने स्मरण गराए। “कानुन बन्न समय लाग्छ, संसदीय पद्धतिमा रहेर मर्यादापूर्वक कुरा राख्नुपर्छ,” उनले भने।
यस्तै, प्रहरी महानिरीक्षकमाथि लाञ्छना लगाएको भन्दै सांसद खगेन्द्र सुनारलाई पनि रविले आफ्नो मर्यादामा बस्न र आफ्ना अभिव्यक्तिबारे सचेत हुन आग्रह गरे। सरकार आफ्नै भएकाले धेरै आलोचनात्मक नबन्न र आगामी चुनावलाई समेत ध्यानमा राखेर संयमित हुन उनले सांसदहरूलाई सचेत गराएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |