

काठमाडौँ : विपद्पछिको उद्धार र राहत कार्य सम्पन्न भएसँगै सरकार औपचारिक रूपमा पुनर्निर्माण र पुनर्फस्थापनाको चरणमा प्रवेश गरेको छ। सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भौतिक संरचनाको तीव्र पुनर्निर्माणका लागि मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।
उद्धार र पुनर्निर्माणलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार, सडक, पुल, खानेपानी र सुरुङमार्गका लागि पाँचवटा छुट्टाछुट्टै कार्यदल गठन गरिने भएको छ। सुरुङमार्गको जोखिम व्यवस्थापनका लागि नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।
विपद् व्यवस्थापन कोषमा बजेट भएर पनि पीडितसम्म नपुग्ने कर्मचारीतन्त्रीय ढिलासुस्ती अन्त्य गर्दै स्थानीय तहलाई सहज रूपमा रकम हस्तान्तरण गरिने सरकारको प्रतिबद्धता छ। गोरखा भूकम्पपछिको लाप्राक बस्तीको प्रसङ्ग जोड्दै अर्थमन्त्रीले अबको पुनर्निर्माणमा प्राविधिक इन्जिनियरिङका साथै सामाजिक विज्ञानको उचित सन्तुलन मिलाइने स्पष्ट पारे। दुई चरणमा ‘विपद्पछिको आवश्यकता आँकलन’ (पीडीएनए) गरी पुनर्निर्माणको विस्तृत रणनीति तयार गरिनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |