

काठमाडौँ : नेपाली कांग्रेसका नेता मधु आचार्यले भोटेकोशी बाढीको सन्दर्भमा वर्तमान सरकार अपरिपक्व, असफल र पूर्वाग्रही देखिएको आरोप लगाएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्दै नेता आचार्यले राहत र उद्धार कर्ममा सरकारको भूमिका फितलो रहेको टिप्पणी गरेका हुन्।
उनले विपद्को अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तह र जनप्रतिनिधिहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सरकारले प्रदेश र स्थानीय सरकारको संवैधानिक महत्त्वलाई उपेक्षा गरेको दाबी गरे। आचार्यले यतिबेला पार्टीले ‘जलवायु न्याय’ र ‘नमूना एकीकृत बस्ती विकास’ को मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए।
जारी कार्यसम्पादन समिति बैठकमा उनले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै ११ बुँदे सांगठनिक तथा नीतिगत सुधारको प्रस्तावसमेत पेस गरेका छन्।
पार्टीको वृहत्तर एकताका लागि लचकता अपनाइएको उल्लेख गर्दै आचार्यले अदालतमा पुनरावलोकनको मुद्दा बोकेर गएका असन्तुष्ट नेताहरूलाई आगामी शुक्रबार (पाँच दिन) भित्र मुद्दा फिर्ता लिन सार्वजनिक आह्वान गरेका छन्। पार्टी विभाजनको विपक्षमा रहेका नेताहरूले मुद्दा फिर्ता लिएर एकताको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
नेता आचार्यले पार्टीभित्र ‘दुई दर्जाको सदस्य’ रहने परिपाटीको अन्त्य हुनुपर्ने अडान राखेका छन्। केन्द्रीय पदाधिकारी लगायत सबै केन्द्रीय सदस्यहरू तल्लो तह (वडा) बाटै निर्वाचित भएर आउनुपर्ने र स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान खारेज हुनुपर्ने उनले प्रस्ताव गरेका छन्।
यस्तै, पालिका र प्रदेश क्षेत्रीय सभापतिहरूलाई महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने, उपमहानगर र महानगरका सभापतिहरूलाई महासमिति सदस्य बनाउनुपर्ने तथा उपमहानगरबाट ५ र महानगरबाट ७ जना थप महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ।
प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित, शहीद परिवार र श्रमिकहरूका लागि छुट्टै क्लस्टरको व्यवस्था गर्नुपर्ने माग गर्दै उनले क्रियाशील सदस्यताको सूची तत्काल पारदर्शी रूपमा सार्वजनिक गरी उजुरी र छानबिनपछि मात्र अन्तिम प्रमाणीकरण गर्नुपर्ने बताए। महिला संघ, नेविसंघ, तरुण दललगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई निश्चित मापदण्डका आधारमा तत्काल पूर्णता दिनुपर्ने उनको भनाइ छ।
सभापति गगन थापाको नेतृत्वमा कांग्रेसलाई समयसापेक्ष, क्रान्तिकारी र प्रगतिशील रूपमा रूपान्तरण गर्दै आगामी महाधिवेशनलाई नीति र नेता निर्माणको ऐतिहासिक अवसर बनाउनुपर्ने धारणा आचार्यले बैठकमा प्रस्तुत गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |