काठमाडौँ : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ। दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको प्रहरीले जनाएको छ। चालकसहित १८ जना सवार उक्त बस दुर्घटना हुनासाथ प्रहरी निरीक्षक थमनसिंह रानाको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धार कार्य चलाएको थियो।
ज्यान गुमाउनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका-३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्र पहिचान खुलेको छ। अन्य पाँच मृतकको सनाखत हुन बाँकी रहेको छ।
घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अनियन्त्रित भई नालामा खसेका कारण क्षति बढी भएको हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |