काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनार र एक महिलाबीच भएको विवादित टेलिफोन संवादको छानबिनका लागि रास्वपा अनुशासन आयोगले प्रक्रिया अघि बढाएको छ। उक्त प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले मागेबमोजिम ‘बीप’ र ‘म्युट’ नगरिएको पूर्ण अडियो तथा लिखित कागजात उपलब्ध गराइएको हो ।
रास्वपा छानबिन समितिका संयोजक हरिचन्द्र भट्टराईको लिखित अनुरोधपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठले संवादको पूर्ण अडियो र सम्बन्धित विवरण पेनड्राइभमा राखेर टोलीलाई हस्तान्तरण गरेका हुन्। केही दिनअघि सार्वजनिक भएको उक्त अडियोमा सुनारले महिलालाई अश्लील शब्द प्रयोग गरी गालीगलौज र धम्की दिएको सुनिन्छ।
यद्यपि, सुनारले भने उक्त अडियो आफ्नो नभएको र कृत्रिम बौद्धिकता (एआई) वा क्यारिकेचरमार्फत तयार पारिएको दाबी गर्दै आएका छन्। रास्वपाले विषयलाई गम्भीरताका साथ लिँदै अनुशासन आयोगमार्फत छानबिन थालेपछि घटनाले नयाँ मोड लिएको छ। जनआस्थाबाट प्राप्त अडियोको प्राविधिक परीक्षणपछि आयोगले प्रतिवेदन तयार पार्ने भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |