काठमाडौँ : बडादसैँका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न प्रसिद्ध शक्तिपीठहरूको दर्शन एवं पूजाअर्चना गरेका छन्। प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजाआजा गरी टीका प्रसाद ग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिर पुगेर विशेष पूजाअर्चना गरेका हुन्। शक्तिस्वरूपा दुर्गा भवानीको आराधना गरिने बडादसैँमा राष्ट्रप्रमुखले परम्परा अनुसार उपत्यकाका शक्तिपीठहरूको भ्रमण गर्ने चलन छ।
बडादसैँका अवसरमा नवदुर्गाको कृपा एवं आशीर्वाद लिन काठमाडौँ उपत्यकालगायत मुलुकभरका शक्तिपीठहरूमा सर्वसाधारण भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। देवीमन्दिरहरूमा पूजाआजा र दर्शनका लागि पुग्ने श्रद्धालुहरूको बाक्लो उपस्थितिसँगै देशभर दसैँको विशेष रौनक छाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |