काठमाडौँ : शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरी सञ्चारमाध्यमको समाचार कक्ष भित्रै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी र अदालतको अनुमति नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा काउन्सिलले आपत्ति जनाएको हो। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि प्रहरी प्रधान कार्यालयको विज्ञप्तिकै पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको ठहर छ। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी परे त्यसको नियमन गर्ने कानुनी अधिकार काउन्सिलकै रहेको स्मरण गराइएको छ।
समाचारको विषयमा सोझै प्रहरी परिचालन गर्नुको साटो स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न सरकार र प्रहरी प्रशासनलाई आग्रह गरिएको छ। काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा बिनाआधार नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न माग गरेको छ। साथै पत्रकार तथा सञ्चारमाध्यमलाई पनि आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |