काठमाडौँ : डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको नेतृत्वमा दिनेश थकाली चयन भएका छन्। कामना सेवा विकास बैंकका अध्यक्ष थकालीलाई संघको २१औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
काठमाडौँमा सम्पन्न साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा तारा मानन्धर, सुमन आचार्य, रबिन सिजापति, हरिबहादुर बुढाथोकी र अनन्तकुमार चापागाईं निर्वाचित भएका छन्।
यसअघि तत्कालीन अध्यक्ष सुयोग श्रेष्ठको कार्यकाल सकिएपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
पदभार ग्रहण गर्दै थकालीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण र कर्जा असुली सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |